
काठमाडौं | एमाले दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्नु भन्नु नै अवैध भएको एमालेका उपाध्यक्ष भीम रावलले बताएका छन्। नेता माधवकुमार नेपाल समुहको स्थायी कमिटीको बैठकपछि उनले भने, ‘हामीले पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटीलाई ब्युताउनुपर्ने भन्दै आएका छौँ। तर, उहाँले कथित निर्णय गर्दै दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने भनिएको छ। त्यो स्वीकार हुँदैन।’
सर्वोच्च अदालतले समेत अवैध भनेपछि त्यो कमिटीको कुनै अर्थ नहुने उनको भनाइ छ। पार्टीलाई एकताबद्ध ढंगले बढाउन ९ औँ महाधिवेशनबाट निर्वाचित तल्लो कमिटीलाई पुनर्जीवित गर्नुपर्छ।’ पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटी विस्तार गर्ने अधिकार पार्टी ०७५ जेठ २ मा फर्किएको कमिटीले मात्रै गर्न सक्ने बताए। भोलि बोलाइएको बैठक अवैध भएकाले अनुपस्थित हुन नसक्ने जिकिर गरे।
सहमतिमा पार्टी पूर्ववत् अवस्थामा फर्केपछिको स्थायी कमिटीले केन्द्रीय कमिटीको बैठक राख्नुपर्ने उनको माग छ। पार्टीभित्र विधि र पद्धतिलाई स्थापित गरेर एकताको प्रयासलाई निरन्तरता दिएको समेत बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनविरुद्ध मुद्दामा सर्वोच्च अदालतमा चलिरहेको भएकाले त्यसबारे कुनै टिप्पणी गर्नुको अर्थ भएको बताए। ’हामीले त्यसलाई असंवैधानिक भनेका छौँ। अदालतमा रहेको विषयमा धेरै बोल्न आवश्यक छैन’, उनले भने।