माधव नेपालले हस्ताक्षर फिर्ता नलिने अडान लिएपछि निराश भएर फर्किए दाेस्राे तहका नेता !



काठमाडौं । नेकपा (एमाले)को एकता प्रयास असफल भएको छ । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई पार्टीले भोलिसम्मको समय दिएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । तर, नेपाल पक्षले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने जवाफ बालुवाटारलाई पठाईसकेको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अदालतबाट फैसला आउनुभन्दा अगावै हस्ताक्षर फिर्ता नलिए अब पार्टी एक हुन नसक्ने बताईसकेका छन् । तर, हिजोमात्रै नेपाल पक्षधर सांसदहरुको जुम मिटिङ बसेर हस्ताक्षर फिर्ता नलिने निर्णय आईसकेको छ । हस्ताक्षर फिर्ताको लागि दिईएको समयसिमा घर्किन लागेको भन्दै दुवै पक्षका प्रभावशाली नेताहरु आज विहान नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए ।

तर, नेता नेपालले हस्ताक्षर फिर्ता लिन नसक्ने जवाफ दिएका छन् । नेता नेपाललाई भेट्न अध्यक्ष ओलीको तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल गएका थिए । नेपालको तर्फबाट भने घनश्याम भुषाल र सोमप्रसाद पाण्डे सहभागी थिए ।

एमालेको दोस्रो पुस्ताका नेताहरुले पछिल्लो समय पार्टी एकताको लागि लगातार वार्ता गरिरहेका छन् । तर, नेपालले देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरिएको हस्ताक्षर फिर्ता नलिने अडानका कारण वार्ता सफल हुन सकेको छैन् । नेता नेपालले देउवाको पक्षमा गरेको स्ताक्षर फिर्ता नलिने अडान लिएपछि उनलाई भेट्न पुगेका नेताहरु निराश भएर फर्किएका छन् ।

प्रकाशित मिति : २०७८ असार २० गते आइतवार