कोरोना भाइरसबारेका सात हल्ला जसले मानिसलाई तनावग्रस्त बनाएको छ !



चीनको वुहान शहरबाट सुरू भएको कोरोना भाइरस अहिलेसम्म संसारका ७९ देशमा फैलिएको छ । जुन गतिका साथ यो भाइरस फैलिइरहेको छ, वैज्ञानिकहरू भन्छन् : त्योभन्दा तिब्र गतिमा यो भाइरसबारेको अफवाह फैलिइरहेको छ। जसका कारण मानिसहरू आतंकित भइरहेका छन्।  विज्ञहरूका अनुसार, त्यस्ता हल्ला-झुटा दावी, षड्यन्त्रको आशंका र गलत जानकारीमा आधारित छन्  सामाजिक सञ्जालले ‘आगोमा घ्यूु थप्ने’ काम गरेको छ। यस आलेखमा, कोरोना भाइरसबारे चलेका ७ अफवाहलाई चिर्ने कोशिश गरिएको छ ।

हल्ला नं १ : कोरोना भाइरस आँफै पैदा भएको होइन, वैज्ञानिकहरूले ल्याबमा बनाएका हुन्

तपाईंले कतै न कतै पक्कै पढ्नुभएको होला, ‘कोरोना भाइरस आँफै पैदा भएको नभइ वैज्ञानिकहरूले ल्याबमा बनाएका हुन्। चीनले जैविक हतियारका रुपमा कोरोना भाइरसको उत्पादन गरेको हो, जुन लिक हुँदा समस्या पैदा भयो। खासगरी चीनबाहिर यस्तो हल्ला छ्याप्छ्याप्ती पारिएको छ।इन्टरनेटमा आउने हरेक कुरालाई आँखा चिम्लेर विश्वास नगर्नुस्। यो हल्लामात्रै हो, यसलाई पुष्टि गर्ने प्रमाण कहीँ भेटिएको छैन। त्यसो त, चीनका सामाजिक सञ्जालमा ‘यो भाइरस अमेरिकाले बनाएको’ चर्चा छ। त्यो पनि निराधार नै हो। अमेरिका र चीन, दुवै देशका वैज्ञानिकहरूले दुवैथरीका हल्लालाई निराधार भनेका छन्। उनीहरू भाइरसको स्रोत पत्ता लगाउने कोशिशमा छन्। चमेरोबाट फैलिएको भनिए पनि पुष्टि भइसकेको छैन।

हल्ला नं. २ : घरेलु विधिबाटै कोरोना भाइरसबाट बच्न सकिन्छ

कोरोना भाइरसबाट बच्न लसुन असाध्यै उपयोगी हुन्छ। धेरै पानी पिउँदा पनि कोरोनाबाट जोगिन सकिन्छ। कोरोना भाइरसबाट बच्ने हो भने नियमित गहुँतको सेवन गर्नु सबैभन्दा उत्तम ! यस्ता कुराहरू फेसबुकमा छ्याप्छ्यापती छन्, जसले मानिसलाई भ्रमित पारिराखेको छ। यी सबै हल्ला हुन्। लसुन, पानी वा गहुँत खाएर कोरोना भाइरसबाट बच्न सकिन्छ भन्ने प्रमाण कहीँ भेटिएको छैन। कसैकसैले त अझ शरीरमा अल्कोहल वा क्लोरिन छर्केर पनि भाइरसलाई मार्न सकिन्छ भनेका छन्। त्यो पनि अपुष्ट कुरा हो। यस्तो भ्रममा नपरेकै राम्रो!

हो, ब्लिच, इथानोल, क्लोरोफर्म लगायतका केमिकलमा भाइरस मार्ने गुण हुन्छ। तर, शरीरको बाहिरी भागमा मात्रै यसले प्रभाव देखाउँछ। कोरोना भाइरस शरीरभित्र छिरिसकेको रहेछ भने यस्ता केमिकलको प्रयोगले कुनै मद्दत गर्दैन। त्यस्ता केमिकलले उल्टै संवेदनशील अंगहरूमा क्षति पुर्‍याउन सक्छन्। सेनिटाइजर आदिले हात सफा गर्दा भने केही फाइदा अवश्य पुग्छ। घरेलु विधिबाट कोरोना निको पार्न सकिन्छ भन्नु हल्लाबाहेक केही होइन। अहिलेसम्म यसको भ्याक्सिन आविस्कार भएको छैन। वैज्ञानिकहरू अनुसन्धानकै क्रममा छन्।

चिकित्सकहरूले भनेका छन्, रुघाखोकी लागेको वा ज्वरो आएको मानिससँग कम्तीमा ३ फिटको दुरीमा बस्नुस्। कम्तीमा २० सेकेन्डसम्म राम्ररी मिचिमिची हात धुने गर्नुस्। खोक्दा वा हाच्छ्युँ गर्दा टिस्यु पेपर वा पाखुराले नै भएपछि मुख छोप्नुहोस्। नियमित छोइराख्नुपर्ने सामग्रीको सतहलाई सफा गरिराख्नुहोस्। र, कोरोना भाइरसको लक्षण देखिएमा अस्पताल गइहाल्नुहोस्।

हल्ला नं. ३ : जतिखेर पनि मास्क लगाएर बस्नुपर्छ

यसबारे चिकित्सकहरुले फरक-फरक धारणा राखेका छन्। केहीले मास्क लगाउन भनेका छन् भने केहीले जरुरी नभएको बताएका छन्। अमेरिकाको ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन् (सिडिसी)’ ले स्वस्थ मानिसले मास्क नलगाउँदा पनि फरक नपर्ने बताएको छ। त्यहाँका डाक्टर जेरोमी एडम्सको कुरा मान्ने हो भने, ‘ढंगले लगाइएन भने मास्कले उल्टै जोखिम बढाउनसक्छ।

कोरोना संक्रमितहरूले भने मास्क लगाउनैपर्छ, ताकि संक्रमण अरुलाई नसरोस्। त्यसबाहेक, संक्रमितहरूको उपचारमा संलग्न चिकित्सक, नर्स तथा अस्पतालका कर्मचारीहरूले पनि मास्क लगाउनैपर्छ। सिडिसीको सल्लाह छ, तपाईंको घरमा कोही कोरोनाका संक्रमित छन् वा कुनै सदस्यलाई यसको लक्षण देखिएको छ भने परिवारका अन्य स्वस्थ सदस्यले पनि मास्क लगाउनैपर्छ। अन्यथा, मास्क लगाउनैपर्छ भन्ने छैन।

काडमाडौंजस्तो प्रदूषित शहरमा मानिसहरू उसै पनि बाहिरफेर निस्कँदा मास्क लगाउने गर्थे। अहिले कोरोना भाइरसको हल्ला चलेपछि बजारमा मास्कको अभाव देखिएको छ, कालोबजारी सुरू भएको छ हल्लाका कारण, नेपालमा मात्रै होइन, संसारभर नै मास्कको हाहाकार भएको छ। फलस्वरुप, संक्रमितहरूसँग नियमित हेलमेल गरिरहनुपर्ने स्वास्थ्यकर्मीले समेत मास्कको अभाव झेल्नुपर्ने अवस्था आएको छ।

हल्ला नं. ४ : तातोले भाइरस मार्छ

तातोले कोरोना भाइरस मार्छ भन्ने कुरा तपाईंले सुन्नुभएकै होला। अथवा, अधिक तापक्रममा यो भाइरस बच्न सक्दैन भन्ने सुन्नुभएको होला। यो पनि हल्ला नै हो। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भनेको छ, तातोमा हात सेकाउँदैमा भाइरस मार्दैन। उल्टै, ताप पैदा गर्ने विभिन्न उपकरणमा हात सेकाउँदा विकिरणहरूले छालामा असर गर्नसक्छ। वैज्ञानिकहरू तातो र कोरोना भाइरसको सम्बन्धबारे कुनै निष्कर्षमा पुगिसकेका छैनन्।

हल्ला नं. ५ : इन्टरनेटबाट पनि भाइरस फैलन्छ, चीनबाट आएका सामान छुनै हुँदैन

कोरोना भाइरसबारे चलेको सबैभन्दा वाहियात हल्ला यही हो। ढुक्क भएर इन्टरनेट चलाउनुस्, यो हल्लामा कुनै सत्यता छैन। डब्ल्यूएचओ भन्छ : चीनबाट आएका सामान प्रयोग गर्न पनि हिचकिचाउनुपर्दैन। ढुक्क भएर प्रयोग गर्दा हुन्छ, यसबाट कुनै जोखिम छैन। यो साँचो हो कि वैज्ञानिकहरू कोरोना भाइरसले मानिसहरूलाई कसरी संक्रमित गरिरहेको छ भन्नेबारे अध्ययन गरिरहेका छन्, तर यसको चरित्रको विश्लेषण गर्दै उनीहरूले भनेका छन्- यो भाइरस कुनै निर्जिव वस्तु वा सतहमा धेरैबेर जीवित रहँदैन।

हल्ला नं. ६ : केटाकेटीलाई केही हुँदैन, भाइरस सरिहाल्यो भने पनि ठूलालाई मात्रै हो

यो हल्लाले डुबाउन सक्छ। कोरोना भाइरसले उमेर हेर्दैन, जसलाई पनि संक्रमण हुनसक्छ। यो हल्ला यसकारण चलेको हुनसक्छ कि यो भाइरसका कारण ज्यान गुमाउने अधिकांश मानिस वृद्धवृद्धा वा पहिल्यैदेखि बिरामी थिए। यसको मतलब यो कदापि होइन कि केटाकेटीलाई संक्रमण हुनैसक्दैन। केटाकेटीलाई संक्रमण भएको कैयौं उदाहरण छन्। चीनमा त झन् नवजात शिशुलाई पनि संक्रमण भएको पाइएको छ।

हल्ला नं. ७ : भाइरस लागेपछि सकियो, संक्रमितको मृत्यु भइहाल्छ

यो पनि बिल्कुल नचाहिने कुरा हो। कोरोना भाइरसको विश्वव्यापी मृत्युदर २ प्रतिशतमात्रै छ। यसको अर्थको १०० जना संक्रमितमध्ये २ जनाको मृत्यु हुने गरेको छ। बाँकीमध्ये केही उपचाररत छन् भने केही निको भएर घर फर्किइरहेका छन्।

संक्रमितहरूमा खासगरी श्वासप्रश्वासको समस्या देखिने गरेको छ। रुघा, खोकी, घाँटी दुख्ने, टाउको दुख्ने र लगातार ज्वरो आदि यसका थप लक्षण हुन्। बलियो प्रतिरोधात्मक क्षमता भएका केही मानिसमा यस्तो लक्षण देखिए पनि आँफै निको भएको समेत पाइएको छ भने कमजोर प्रतिरोधात्मक क्षमता भएकाहरूमा बढी असर देखिएको छ। अगावै श्वासप्रश्वासको समस्या भएकाहरूका लागि भने यो भाइरस घातक देखिएको छ। वैज्ञानिकहरू कोरोनाविरुद्धको भ्याक्सिन बनाउन संघर्षरत् छन्। सुरूमै भनियो, ७९ देशमा यो भाइरस फैलिएको छ। अहिलेसम्म ९२ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ, मृत्युदर २ प्रतिशत छ। दुई प्रतिशत मृत्युदर पनि ठूलै चिन्ताको विषय हो।

प्रकाशित मिति : २०७६ फाल्गुन २४ गते शनिवार