
काठमाडौं, २४ फागुन । परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने काठमाडौं जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्मचार्यलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरीले परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले परीक्षामा कम नम्बर ल्याएको भन्दै कक्षा ६ का विद्यार्थीलाई हात चिरेर यातना दिएको पाइएपछि महानगरीय प्रहरी वृत बानेश्वरले शिक्षिका कर्मचार्यलाई नियन्त्रणमा लिएको पुष्टि गर्नुभयो ।
एसएसपी सुवेदीले भन्नुभयो, ‘आरोपित शिक्षिकालाई शनिबार बिहान उनको घरबाटै नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट म्याद थप गरी उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरिरहेका छौं ।’ उक्त एकेडेमीले शिक्षिका कर्मचार्यलाई जागिरबाट बर्खास्त गरिसकेको भन्दै विज्ञप्ती निकालिसकेको छ । प्रिन्सिपल राजनकुमार श्रेष्ठले उनलाई शुक्रबारदेखि लागू हुने गरी बर्खास्त गरेको बताउनुभयो । भक्तपुर घर भएकी उनले विगत १० वर्षदेखि सो स्कुलमा कक्षा ६ का विद्यार्थीहरुलाई सामाजिक विषय पढाउँदै आएकी थिइन् ।
२० पूर्णाङ्कको परीक्षा लिइएकोमा १५ भन्दा कम नम्बर ल्याउने विद्यार्थीले शिक्षिका कर्मचार्यको दबाबपछि हात चिरेका थिए । राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै उनले परीक्षाकै समयमा धम्की दिएकी थिइन् । जति कम नम्बर आएको छ त्यति धेरै हातमा चिरा पारिएको छ ।