नेपाली श्रमिक लैजान दक्षिण कोरियाले राख्यो यी तीन सर्त !



कोरोना संक्रमणको सुरुवातसँगै रोकिएको रोजगारी नियमित गर्न दक्षिण कोरियाले नेपालसामु सर्त राखेको छ । नेपाली श्रमिक लैजान दक्षिण कोरियाले तीन वटा सर्त राखेको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताए ।

नेपालबाट सीधै कोरिया उडान हुनुपर्ने, त्यहाँ पुगेर कोरोना बिमा गर्नु पर्ने र त्यहाँ श्रमिकले आफ्नै खर्चमा क्वारेन्टिन बस्नु पर्ने सर्त दक्षिण कोरियाले राखेको हो । यी सर्त पुरा गर्ने भएमा श्रमिक लैजाने प्रक्रिया अगाडि बढाउने कोरियाले बताएको महानिर्देशक दवाडीले बताए ।

यस विषयमा निर्णय गर्न विभागले केही दिनपहिले नै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा फाइल पठाइसकेको छ । ‘हामीले गर्नुपर्ने जति सबै गरेर फाइल मन्त्रालयमा बुझाइसकेका छौँ, अब मन्त्रालयको निर्देशन आएपछि प्रक्रिया अगाडि बढ्छ,’ दवाडीले भने ।

मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले कोरियाको सर्त अनुसारका धेरै काम भइसकेको र कतिपय श्रम सम्झौता हुँदाकै विषयमा पनि प्रगति भइरहेकाले छिट्टै कोरियाको रोजगारी खुल्ने विश्वास व्यक्त गरे । सरकारले गत साता दक्षिण कोरियामा पनि नियमित उडान सुरु गर्ने निर्णय गरिसकेको छ ।

‘अन्य केही व्यवस्थापकीय कामहरु छन्, ती विषयमा पनि मन्त्रालयले काम गरिरहेको छ,’ काफ्लेले भने, ‘पछिल्ला सर्तबारे पनि काम भइरहेको छ ।’ कोरोना माहामारीका कारण गत वर्ष सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै दक्षिण श्रमिक कोरिया जान पाएका छैनन्। करिब ७ हजार नियमित र पुनः जान लागेका ३ हजार श्रमिक जान नपाएको मन्त्रालयले जनाएको छ ।

भाषा पास गरेर सबै प्रक्रिया पुरा गरेपनि कोरिया जान नपाउँदा उनीहरुले पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । अहिले सरकारले छिट्टै खुल्ला हुने आश्वासन दिएको भाषा पास गरेका श्रमिकहरुको संघर्ष समितिका संयोजक अजय सोडारीले बताए ।

कोरोना महामारीकै बीचमा पनि कम्बोडिया, भियतनाम, थाइल्यान्ड, पूर्वी टिमोरलगायत देशबाट भने कोरियाले श्रमिक लगिरहेको छ । कोरियाबाट कन्फर्मेसन लेटर आएको ६ महिनाभित्रमा कोरिया पुगिसक्नु पर्ने प्रावधान छ। यो अवधिमा नपुगे रोजगारी गुम्छ । तर विभागका महानिर्देशक दबाडीले भने बीचमा म्याद सकिएकाहरुको एक वर्ष म्याद थप भएको बताए । नेपाल खबरबाट साभार

प्रकाशित मिति : २०७८ असार १४ गते सोमवार