
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विरोधीहरुले सरकारको राम्रो कामको पनि विरोध गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले सरकारले जनताका लागि निकै राम्रा काम गरेपनि विरोधीहरुले त्यसलाई देख्न नसकेको तर्क गरेका हुन् ।
उनले अहिले आएको बाढी पनि सरकारकै कारण आएजस्तै प्रचार गरिएको धारणा राखे । प्रधानमन्त्री ओलीले बाढीपिडित जनताका लागि आवास लगाएतका सवै व्यवस्था सरकारले गर्ने बताए । त्यस्तै उनले आफू नयाँ जनमत लिन जनताको माझमा जान निर्वाचन घोषणा गरिएको तर विपक्षी दलहरु भने निर्वाचनदेखि अतालिएको बताए । संसारमा कुनै पनि राष्ट्रमा अदालतबाट बनेको सरकार दीगो र सफल हुन नसकेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले चूरेको बिनास नभइ संरक्षण गर्न सरकारले उचित व्यवस्था गरेको तर्क गरे । चूरे बिनास गर्ने सरकारको कुनै उदेश्य नरहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारले खानीको मात्र उचित प्रयोग गर्ने जिकिर गरे ।
बैठकमा ओलीले बाढी पहिरोबाट घाइतेहरुको उपचारको ब्यवस्था सरकारले गर्ने, क्षतिको मूल्याङ्कन गरेर उचित राहतका लागी लागि गृहमन्त्रालयले पहल गर्ने बताए । उनले रेस्क्यू गर्दा अपाङ्गता भएका जेष्ठ नागरिक बालबालिका गर्भवती महिलालाइ प्राथमिकतामा राख्न निर्देशन दिए ।
बैठकमा बिपक्षी दलका नेताहरु भने सहभागी भएनन् । परिषदमा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलगायत सदस्यका रूपमा रहने व्यवस्था छ ।