
नेकपा एमालेकी नेतृ एवम् बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले पार्टीको विवाद मन फराकिलो बनाएर मिलाउनुपर्ने बताएकी छन्। अब एक अर्कालाई साथ दिँदै एकताको आधार बनाउनुपर्ने उनले बताइन्।
लामो विवाद चलिरहेका बेला पार्टी विभाजनतर्फ गइरहँदा नेपाल समूहबाट प्रधानमन्त्री केपी शर्मा ओलीकी कट्टर आलोचकमध्ये एक शाक्यले एकताका लागि सकारात्मक दबाब दिँदै जानुपर्नेमा जोड दिएकी छन्। ‘अब मन फराकिलो बनाऔं । एक अर्कालाई साथ दिऊँ, सघाउँदै जाऊँ’, फरकधारसँगको कुराकानीका क्रममा शाक्यले भनिन्, ‘बोलीचाली बन्द भएकाले अब कुरा खुलाऔँ । के फाइदा भयो र सिद्याउने कुरा गरेर ?’
यसअघि नेतृ शाक्यले ओलीको विकल्प खोज्न ढिला गर्न नहुने तर्क गर्दै आइरहेकी थिइन्। तर, पछिल्लो राजनीतिक घटनाक्रम बदलिरहँदा बागमती प्रदेशमा माधवकुमार नेपाल समूह ओली नेतृत्वको समूहप्रति नरम देखिएको छ।
बागमती प्रदेश सदस्यसमेत रहेकी शाक्य यसअघि मुख्यमन्त्रीकी दाबेदार पनि थिइन्। तर ओलीले डोरमणिलाई मुख्यमन्त्री बनाइदिए। नेपाल पक्षलाई पेल्ने नियतका साथ शाक्यलाई मुख्यमन्त्री हुनबाट ओलीले बञ्चित गरिदिए। त्यसपछि पुस ५ को राजनीतिक घटनाक्रमले डोरमणिलाई बिदा गर्ने गरी शाक्यले मुख्यमन्त्रीमा दाबी गरेकी थिइन्।
माओवादीसँग मिलेर शाक्यले आफ्नै नेतृत्वमा पौडेलविरुद्ध २ पटक अविश्वास प्रस्ताव लगिन्। अहिले भने शाक्य आफैँले निर्देशन दिएर बागमती सरकारको आगामी वर्षको नीति कार्यक्रम पारित भएको छ। यसअघि ओलीको कडा आलोचकका रुपमा चिनिएकी नेतृ शाक्य यसपटकको संसदीय दलको बैठकमा उपस्थिति भइन्। पटक पटकको आग्रह लत्याएकी उनी यसपटक सहभागी भएर आफ्ना कुरा पनि राखिन्।
‘प्रदेशमा पनि राम्रो थिएन, बोलीचाली नै थिएन । हामी त सत्ता पक्षभित्रका पनि प्रतिपक्ष बनेका थियौं’, उनले अगाडि भनिन्, ‘तर, अहिले अवस्था अलिक नरम हुँदै गएको छ।’ फरकधारबाट