
जोहरबारु । मलेसियामा बुधबार बिहान दुर्घटनामा परेका ८ जना नेपाली श्रमिक उपचारपछि सकुशल होस्टेल फिर्ता भएका छन्। मंगलबार राती काम गरेर बिहान घर फर्किने क्रममा ९ नेपाली श्रमिक बोकेको ‘सेक्युरिटी भ्यान’ दुर्घटनाग्रस्त भएको थियो। यो घटनामा मलेसियन चालकसहित ३७ वर्षीय नेपाली युवा तनहुँका झपटबहादुर थापाको ज्यान गएको थियो। अन्य ८ भने घाइते भएका थिए।
उनीहरूलाई स्थानीय सुल्तानाह अमिनाह अस्पतालमा उपचारका लागि राखिएको थियो। मलेसियास्थित नेपाली दूतावासका जनसम्पर्क अधिकृत (पिआरओ) टेकबहादुर बुढाका अनुसार हाल सबै स्वास्थ्य लाभ गरेर कम्पनीको होस्टेलमा फर्किसकेका छन्। ‘६ जना बिहीबार डिस्चार्ज हुनुभएको थियो। बाँकी दुई जना शुक्रबार डिस्चार्ज हुनुभएको छ,’ बुढाले भने।
घटनामा परेका सबै नेपाली ‘के फोर्स सेक्युरिटी’ कम्पनीमा सुरक्षागार्डको रुपमा कार्यरत थिए। ‘सेक्युरिटी भ्यान’ बुधबार बिहान ७ बजेर ४५ मिनेटमा जोहरबारुस्थित जलान तुलाङ डार्ट–इस्टर्न डिस्पर्सल लिङ एक्सप्रेसवे (इडीएल) मा दुर्घटना भएको थियो। गाडी बिजुलीको खम्बामा ठोक्किदा पल्टिन पुगेको थियो।
यो घटनामा जीतबहादुर थापा, रामकुमार सापकोटा, खड्ग सुनार, विनोद बास्कोटा, दुर्गा रायमाझी र निम्बाङ तामाङ स्वास्थ्य लाभ गरेर बिहीबार डिस्चार्ज भएका थिए भने चन्द्र श्रेष्ठ र जयबहादुर बुढाथोकी शुक्रबार डिस्चार्ज भएको पीआरओ बुढाले बताए।