धनगढी उपमहानगरले भन्यो : कोरोनाबाट बच्न बेसार, बोझो र लसुन खानू !



काठमाण्डाै – चीनबाट फैलिएको कोरोना भाइरसको औषधि र उपचार पद्धति अहिलेसम्म पत्ता लागेको छैन । तर कैलालीको धनगढी उपमहानगरपालिकाले उदेकलाग्दो सूचना सार्वजनिक गरेको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट बच्न भन्दै उपमहानगरपालिकाले बेसार, बोझो र लसुन धेरै खान सुझाव दिएको छ । उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले शरीरमा रहेका किटाणु नास गर्ने भएकाले बेसार, बोझो र लसुन धेरै खान सुझाव दिएको उज्यालोलाई बताउनुभयो । नगरपालिकाले यस्तो सूचना निकालेको रहेछ नि ! भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘यी चीज शक्तिवर्द्धक भएकाले धेरै खान सुझाव दिएका हौं ।’

तर कोरोना भाइरसको लागि अहिलेसम्म कुनै प्रकारको औषधि वा जडीबुटी पत्ता नलागेकाले हल्लाको पछि नलाग्न विज्ञहरुले आग्रह गर्दै आएका छन् । कोरोना भाइरस सङ्क्रमित व्यक्तिको थुकबाट अर्को व्यक्तिमा सर्ने भएकाले भिडभाडमा नजान तथा हात नमिलाउन केही सामान छोइसकेपछि साबुनपानीले राम्ररी हात धुन तथा जतिबेला पनि नाक, मुख र आँखामा नछुन डाक्टरको सुझाव छ । साबुनपानी नभएको अवस्थामा स्यानिटाइजर पनि प्रयोग गर्न सकिन्छ । खोक्दा र हाच्छयुँ गर्दा निस्कने थुक र र्‍यालले छोए, अर्को व्यक्तिलाई सर्ने भएकाले रुघाखोकी लागेका व्यक्ति र स्वास्थ्यकर्मीले अनिवार्य मास्क लगाउनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर अनुप बाँस्तोलाले बताउनुभयो ।

सङ्क्रमित व्यक्तिले परिवारका सदस्यसँगको दुरी बढाउने, बोल्दा अलि परै बस्ने गर्नाले पनि सङ्क्रमण फैलनबाट जोगिन सकिनेछ । उहाँका अनुसार उच्च ज्वरो आउनु, खोकी लाग्नु तर खकार नआउनु, सास फेर्न गाह्रो हुनु, मासु दुख्नु, थकान धेरै महसुस हुनु कोरोनाका लक्षण हुन् । यस्तै एक्कासी ज्वरो आउनु, टाउको दुख्नु, माशंपेशी दुख्नु, सुख्खा खोकी लाग्नु मौसमी फ्लु हो । मौसमी फ्लुसँग लक्षण मिल्दोजुल्दो भए पनि कोरोना सङ्क्रमितलाई टाउको दुख्दैन । यी लक्षण देखिए तातो झोलिलो खानेकुरा खाएर आराम गर्ने सँगसँगै डाक्टरको सुझाव पनि लिनुपर्ने डाक्टर बाँस्तोलाको भनाइ छ । विश्वमा अहिलेसम्म कुनै पनि लक्षण नदेखिकनै एक प्रतिशतलाई मात्र कोरोनाको सङ्क्रमण भएको पाइएको छ । यस्तै ८१ प्रतिशतमा सामान्य खोकी र १८ प्रतिशतमा निमोनिया भएर सास फेर्न गाह्रो हुने गरेको पाइएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन २२ गते बिहिवार