आजदेखि १४ तारिकसम्म मलेसियामा अत्यावश्यक बाहेक सबै आर्थिक र सामाजिक गतिविधिमा रोक



काठमाण्डौ | कोरोना सङ्क्रमण रोकथामका लागि मलेसियामा फेरि देशव्यापी लकडाउन ‘मोमेन्ट कन्ट्रोल अर्डर’ लागू हुने भएको छ । जुन १ देखि १४ सम्म मलेसिया सरकारले अत्यावश्यक बाहेक सबै प्रकारका आर्थिक र सामाजिक गतिविधिमा रोक लगाउने निर्णय गरेको स्थानी सञ्चार माध्यम द स्टारले खबर लेखेको छ । खाद्यान्न, स्वास्थ्य क्षेत्र, पानी, बिजुली, सुरक्षा, इन्धन आयात निर्यात, बैङ्क तथा वित्तीय संस्था लगायतका १७ वटा अत्यावश्यक क्षेत्र बाहेक अन्य क्षेत्र सञ्चालन हुने छैन ।

अत्यावश्यक बस्तु खरिदका लागि पनि एकै परिवारका दुई व्यक्तिभन्दा जान पाइने छैन । श्रमिकहरूलाई काममा आवतजावत गर्नका लागि यसअघि जारी गरिएका सबै पासहरू पनि ३१ मे देखि रद्द हुनेछ । जुन १ देखि त्यस्ता पासहरू काम लाग्ने छैनन् । कामको क्षेत्र अनुसार सम्बन्धित निकायले फेरि पास जारी गर्ने मलेसियाले जनाएको छ । पछिल्लो समय मलेसियामा कोरोना सङ्क्रमण निकै बढेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १७ गते सोमवार