
काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झाले नेपालमा आफूहरुले अहिलेसम्म गरिएको परीक्षणमा कसैलाई पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नभेटिएको स्पष्ट पार्नुभएको छ । कोरोनाको परीक्षण थ्रोट स्वाब र नाकबाट पनि लिने गरिएको बताउँदै उहाँले अगाडि भन्नुभयो, ‘नेपालमा यो भाइरसको परीक्षण हाम्रो ल्याबमा मात्रै हुन्छ, सुरुमा हामीले पनि यसको नमूना परीक्षण हङकङ पठाएका थियौं । त्यतिबेला हामीमाथि ठूलो आलोचना पनि भयो । तर, अहिले हामी आफैंले परीक्षण सुरु गरिसकेका छौं ।’
बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा निर्देशक झाले कोरोनाको लक्षण बाहिर कुरा आएजस्तै रुघाखोकी र ज्वरो नै भएको बताउनुभयो । निर्देशक झाले अहिलेसम्म गरिएको परीक्षणहरु सबै नेगेटिभ आएको सुनाउँदै आफूहरुले गरेको परीक्षणको कामसमेत विश्व स्वास्थ्य संगठनले ठीक छ, भनेर भनेको जानकारी दिनुभयो । उहाँले आफूहरुको ल्याबलाई डब्लु.एच.ओ.ले मान्यता दिएको सुनाउँदै हप्तामा ५ सय जनाको परीक्षण गर्न सकिने ल्याबको क्षमता भएको जानकारी दिनुभयो । उहाँले हालै मात्र दक्षिण कोरियाबाट आएको नेपाली जसलाई ‘श्वाँसप्रश्वाँसको समस्या र ज्वरो आएको थियो’ परीक्षण गर्दा उनको पनि रिजल्ट नेगेटिभ आएको जानकारी पनि दिनुभयो ।