
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा कडाइ गरिए पनि कोही भोकै मर्नुपर्ने अवस्था आउन नदिइने बताएका छन्। जेठ १४ गतेदेखि २० गतेसम्म काठमाडौं जिल्लामा निषेधाज्ञालाई कडाइ गर्ने आदेश भएको सन्दर्भमा नागरिकहरु खानै नपाइने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको उनले जिकिर गरे। बिहान बेलुकी छाक टार्न नै समस्या पर्नेहरुका लागि काठमाडौं महानगरपालिकासँग समन्वय गरेर राहत उपलब्ध गराउने प्रवन्ध मिलाइएको उनको दावी छ।
बुधबार काठमाडौंको नागढुंगा नाका अनुगमन गर्दै पराजुलीले भने ‘आपत् विपत परे काठमाडौं महानगरपालिकासँग समन्वय गरेर वडा कार्यालय मार्फ् त्यस्ता व्यक्तिहरुलाई राहत उपलब्ध गराउने प्रवन्ध पनि मिलाएका छौँ। कोही पनि व्यक्ति भोकले मर्नुपर्ने अवस्था हुँदैन, ठाउँठाउँमा दाल, चामल उपलब्ध गराउने प्रवन्ध पनि गर्छौँ।’
समस्यामा पर्नेले सम्बन्धित वडा तथा नगरपालिकामा अथवा नेपाल प्रहरीको १०३ सम्पर्क नम्बरमा फोन गरेर समस्या राखे समाधान गरिने पनि उनले बताए। सरकारी संयन्त्र खाद्य संस्थान र साल्ट ट्रेडिङमार्फत् विक्री वितरणको व्यवस्था मिलाउने उनले बताए। खाद्यान्न किन्न पाइएन भने १०३ मा फोन गर्नुभयो भने त्यसको व्यवस्थापन गर्नेछौँ’ उनले भने।
प्रमुख जिल्ला अधिकारी पराजुलीले कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, राधास्वामी सत्संग ब्यास नेपाल र मनमोहन अस्पतालमा निर्माण भइरहेको आइसोलेसन सेन्टरको अवलोकन समेत गरे । काठमाडौं जिल्लामा एक हजार बेडको आइसोलेसन सेन्टर बनाउने मन्त्रिपरिषद्को निर्णय अनुसार विभिन्न ठाउँमा आइसोलेसन सेन्टर व्यवस्थापन गरेको पनि उनले बताए। पराजुलीले कोरोना संक्रमणको दर बढेको कारण निषेधाज्ञा गर्नुपर्ने अवस्था आएको भन्दै सर्वसाधारणलाई दुःख दिने मनशायले निषेधाज्ञा नगरिएको टिप्पणी गरे। प्रशासनले नागरिकको सहयोगको अपेक्षा गरेको उनको भनाइ छ।