केपी ओली केशरजंग रायमाझीका नयाँ अवतार हुन्- माधव नेपाल !



एमाले वरिष्ठ नेता माधव नेपालले केपी ओली रायमाझीको नयाँ अवतार भएको आरोप लगाएका छन् । नेपालले पार्टी निर्माणमा कुनै भूमिका नभएका ओलीले पार्टीका संस्थापक नेतालाई कारबाही गरेँ भन्नु हाँस्यास्पद रहेको बताए । ‘केपी ओली पार्टी सक्ने व्यक्ति हो। झलनाथ खनाल, म, मुकुन्द न्यौपानेलगायतका संस्थापक नेतालाई पार्टीबाट निष्काससन गर्नु अत्यन्तै भत्सर्नायोग्य कदम हो,’ उनले भने, ‘उहाँकै कारण कम्युनिष्ट पार्टी बदनाम भयो। यस्तो व्यक्तिलाई पार्टीको नेतृत्व दिनुनै हाम्रो दूर्भाग्य हो। उहाँ रायमाझीको नयाँ अवतार हो।’

नेपाल कम्युनिष्ट पार्टीका पूर्व माहासचिव केशरजंग रायमाझी राजसभा स्थायी समितिका सभापतिसमेत बनेका थिए । कम्युनिष्ट आन्दोलनलाई दरबारमा बुझाउने कोशिस गरेको आरोप रायमाझीमाथि लाग्दै आएको छ । वरिष्ठ नेता नेपालले ओलीले मार्क्सवादलाई आत्मसाथ समेत गर्न नसकेको आरोप लगाए ।

‘उहाँलाई लोकतन्त्र, संघीयता, गणतन्त्र केही पनि मन परेको छैन। उहाँ फासीवादी, अहंकारी स्वभावको व्यक्ति हो। उहाँमा देशभक्तिको भावनासमेत छैन,’ उनले भने, ‘हामीले संवlधानको रक्षाका लागि संघर्ष गरेको, प्रतिगमनको विरोध गरेको उहाँलाई सह्य भएको छैन। उहाँलाई आलोचना, सुझाव केही मन पर्दैन। आफ्ना गफलाई सुनेर ताली बजाउने जमात चाहिएको छ।’

आफूहरू ओलीको कदमबिरूद्ध कानुनी र राजनीतिक लडाईँमा लागिरहने उनले बताए। लोकतान्त्रिक र वामपन्थी शक्ति एक हुन जरूरि रहेको समेत उनको भनाई छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले खनाल नेपालसहितका स्पष्टीकरण सोधिएका ११ नेतालाई पार्टीबाट निष्कासन गरेको हो ।

उनीहरुलाई काँग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनर्स्थापना हस्ताक्षर गरेर पार्टी गतिविधि विरुद्ध लागेको आरोप लगाइएको छ । यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तावका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो ।

बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पार्टी सदस्य नै नरहने गरी कारवाही गरेको हो। यस्तै आजको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

स्पष्टीकरण मागिनेमा एमाले उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथा सांसद्हरु विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, मेटमणि चौधरी, यज्ञ सुनुवार, भवानी प्रसाद खापुङ, दिपक प्रकाश भट्ट र नारायण खतिवडा छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार