प्रभाकरको प्रस्ताव– विपक्षी गठबन्धनको बैठक बसेर नयाँ प्रधानमन्त्री चुनौं



काठमाडौं । संसद विघटनको प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै विपक्षी गठबन्धनका नेताहरुले कानूनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेका छन् । तर यही बीचमा सोही गठबन्धनका एक नेताले भने सरकारको विपक्षमा रहेका सांसदहरु मात्रै बैठक बसेर नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका छन् ।

यस्तो प्रस्ताव गर्ने नेता हुन् नेकपा माओवादीका स्थायी कमिटी सदस्य जनार्दन शर्मा (प्रभाकर) । ‘सभामुखले बैठक बोलाउने । त्यही बैठकबाट नयाँ प्रधानमन्त्री चुन्ने र सरकार चलाउने मेरो प्रस्ताव छ’ उनले भने, ‘संविधान मिच्ने राष्ट्रपति र प्रधानमन्त्रीलाई जस्ताको तस्तै जवाफ दिन यही उपयुक्त हुन्छ ।’ यो प्रस्ताव आफूले दलका शीर्ष नेताहरुसमक्ष राखिसकेको पनि उनले बताए । ‘राजनीतिक रुपमा जवाफ दिने हो भने यस्तै गर्नुपर्छ भनेको छु, तर नेताहरुले मेरो कुरा सुनेका छैनन्’, उनले भने ।

गलत हुन्छ : बिडारी
सभामुख अग्नि सापकोटाले संसद विघटनको विरोध गरेकाले विपक्षीहरुले उनको साथ पाउनेमा शंका छैन । तर यो संविधानको अनुकूल हुँदैन । संविधानमा सरकार गठनको प्रक्रिया धारा ७६ मा र संसद बैठक आह्वान र अन्त्यको व्यवस्था धारा ९३ मा स्पष्ट रुपमा लेखिएको छ ।

त्यसैले संवैधानिक कानूनका जानकारसमेत रहेका राष्ट्रियसभा सदस्य रामनारायण बिडारी संविधानको व्यवस्था विपरीत जानु गलत हुने बताउँछन् । ‘राष्ट्रपति र प्रधानमन्त्रीले संविधान मानेनन् भन्दैमा हामीले पनि किन मान्नु पर्यो भनेर जाने हो भने देशमा थप अराजक स्थिति सिर्जना हुन्छ ।’

प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते आइतवार