सडकमा आन्दोलन हुने भएपछि गृहकाे निर्देशन ‘निषेधाज्ञा कडा कार्यान्वयन गर्नु’



काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन हुनसक्ने आंकलनका साथ सरकारले निषेधाज्ञाको कडा कार्यान्वयन गर्ने भएको छ । गृहमन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई बोलाएर मानिसहरुलाई सडकमा निस्कन नदिन निर्देशन दिएको हो ।

गृह सचिव महेश्वर न्यौपानेले सुरक्षा प्रमुखहरुलाई निषेधाज्ञाका बेला भीडभाडजन्य गतिविधि गर्न रोक लगाउन पनि भन्नुभएको छ । सरकारी आदेश उल्लंघन गरेर सडकमा निस्किए संक्रामक ऐन तथा निषेधाज्ञा उल्लंघन सम्बन्धी कानून अनुसार १ महिनासम्म कैद वा एक सय रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था छ ।

गृह मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्लाका तीनवटै सुरक्षा निकायलाई परिपत्र गरेर निर्देशन कार्यान्वयन गर्नु भनेको छ । गएराति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेपछि कांग्रेससहितका ४ दल र सत्तारुढ एमालेको माधव नेपाल समूहले प्रतिगमनविरुद्ध आन्दोलन गर्ने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ८ गते शनिवार