ओली पक्षमै रहे योगेश भट्टराई !



काठमाडौं । नेकपा एमालेका सांसद एवम् पूर्वमन्त्री योगेश भट्टराईले बरिष्ठ नेता माधव कुमार नेपालको साथ छोडेको संकेत गर्नुभएको छ । नेकपा रहँदै देखि प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध संघर्ष गर्दै नेता नेपालको पक्षमा रहनु भएका नेता भट्टराई शुक्रबारबाट साथ छाडेको संकेत गर्नुभएको हो । उहाँले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आज राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन भएको बताउनु भएको छ ।

उहाँले राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकार गठनका लागि गर्नुभएको आह्वान अनुसार विपक्षी दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेता नेपाल पक्षकाे समर्थनमा सरकार गठनका लागि बहुमत प्रस्तुत गर्न भट्टराईले हस्ताक्षर गर्नु भएको थिएन ।

नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले हस्ताक्षर नगरेको उहाँको भनाइ छ । उहाँले भन्नुभएको छ, ‘मैले नेकपा एमालेको एकता जोगाउन सकिन्छ कि भन्ने आशाले यो निर्णय गरेँ । सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मूल्याङ्कनमा खडा छु।’ उहाँको यो भनाइले नेपाल पक्षको साथ छोडेर अध्यक्ष ओलीकै कित्तामा रहने संकेत गर्छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ८ गते शनिवार