‘संसद् विघटन हुन सक्छ, दाेष मलाई दिन पाइँदैन’



काठमाण्डौ | प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार निर्माण गर्न नसके आफूलाई समर्थन गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रवार आकस्मिक पत्रकार सम्मेलन गरी सके आफूविरुद्ध सरकार गठन गर्न चुनौती दिनुभयो । सहमति जुट्न नसके आफूलाई समर्थन गर्न उहाँले आग्रह गर्नुभयो ।

ओलीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार आफूले पनि प्रधानमन्त्रीको दाबी गर्न सक्ने बताउनुभयो । सर्वत्र असहयोगका कारण सरकारको नेतृत्व गर्न मन नलागेर विश्वासको मत लिने कामबाट हात उठाएको बताए पनि उहाँले फेरि पनि सरकारको दाबी भने गर्ने बताउनुभएको हो । उहाँले विश्वासको मत नदिए प्रतिनिधि सभा विघटन हुन सक्ने र त्यसको जिम्मेवार आफू नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार आफू प्रधानमन्त्री भए र त्यसपछि विश्वास प्राप्त गर्न नसके संसद् विघटन हुने र त्यसको आरोप आफूलाई लगाउन नमिल्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा सदस्यको हिसाबले मैले दाबी गर्न सक्छु । म पनि दाबी गर्ने प्रयासमा छु । दाबी गर्न सक्छु । अहिलेसम्म मसँग एक सय २१ को मतभार छ । मलाई अलि सजिलो होला कि भनेर कोसिस गरिरहेको छु । यदि समर्थन प्राप्त भयो र त्यो राष्ट्रपतिलाई भरपर्दो आधार लागेर नियुक्त गर्नुभयो भने मैले सरकार बनाउँछु अनि एक महिनाभित्र फेरि विश्वासको मत लिनेछु । फेरि विश्वासको मत नदिएर अनि विघटन (प्रतिनिधि सभा) गर्‍यो भनेर आरोप लगाउन पाइने छैन । विश्वासको मत नदिने अनि चुनावमा गयो भन्न त पाइने छैन ।’

संविधानअनुसार सरकार गठन नभए अन्ततः चुनावमा नै जानुपर्ने भन्दै प्रधानमन्त्री ‌ओलीले आफूलाई समर्थन गर्न आग्रह गर्नुभयो । उहाँले आफूले अघि सारेका विकल्पमा पनि सहमत नहुने अनि आफ्नो विरुद्ध पनि सरकार गठन गर्न नसक्ने विपक्षीहरूलाई कपडा बुन्ने तानको सटर भनी टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओली आफू तत्काल चुनावमा जाने पक्षमा नरहेको तर विपक्षीहरूको कारणले त्यो स्थिति बन्यो भने पनि संवैधानिक प्रक्रियाको रूपमा सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँहरूले चुनावमै पुराउनुभयो भने आकाश खस्ने कुरा होइन । यो संवैधानिक प्रक्रिया हो । चुनावै भयो भने पनि आकाश खस्छ भन्ने कुरा होइन । चुनाव त यो मङ्सिरमा नभए अर्को मङ्सिरमा त गर्नै पर्छ । आउँदो फागुनमा त पालिकाको चुनाव गर्नैपर्छ । नागरिकको अभिमत एक अवधिका लागि स्वीकार्नै पर्छ । प्रचण्डजीले स्वीकारेको भए यो समस्या आउँदैनथ्यो नि त । माधवकुमार नेपालले नागरिकको अभिमतलाई स्वीकार्नु भएन । आफ्नै पार्टी ध्वस्त पार्न लाग्नुभयो । बिहानै–बेलुकै कोटेश्वरतिर धाउने । आफूले अस्थिरताको खेती गर्ने फेरि लोकतन्त्रको कुरा गर्ने ?’

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार