बादललाई एकै दिन दुई झड्का



काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादललाई तीन घन्टाको अन्तरालमा दुई झड्का लागेको छ । यी दुई झड्काले उनको वर्तमान सरकारमा रहने ढोका पूर्ण रुपमा बन्द भएको छ । पहिलो झड्का अपरान्हतिर लाग्यो । सर्वोच्च अदालतको अन्तरिम आदेशले उनलाई स्वतः गृहमन्त्रीबाट पदमुक्त गरिदियो । त्यतिबेला उनी राष्ट्रिय सभाको उपनिर्वाचनमा उम्मेदवारका रुपमा हेटौंडामा थिए । उनलाई जित निकाल्नैपर्ने वाध्यता थियो ।

काठमाडौंबाट हेटौंडा पुग्दासम्म गृहमन्त्री रहेका बादल उतै रहँदा भूतपूर्व भइसकेका थिए । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गैरसांसदको दोस्रोपटक मन्त्रीमा नियुक्तिलाई असंवैधानिक ठहर गर्दै अन्तरिम आदेशमार्फत् बदर गरिदिएको थियो । त्यसपछि बादलले पुनः मन्त्री बन्न राष्ट्रिय सभाको निर्वाचन जित्नुपर्ने वाध्यात्मक अवस्था थियो ।

बादललाई दोस्रो झड्का साँझतिर पर्यो । उनी राष्ट्रिय सभाको उपनिर्वाचनमा पराजित भए । चुनावमा हार व्यहोरेसँगै वर्तमान सरकारमा पुनः मन्त्री बन्ने सम्भावनाको ढोका बन्द भयो । बादललाई एमालेकै माधव नेपाल समूहका डा. खिमलाल देवकोटाले पराजित गरे ।

प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते बिहिवार